April 17, 2026

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

नाग्रेगगर्चेलाई चौंरीदेउराली अध्यक्ष कपको उपाधि

चौंरीदेउराली/काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले आयोजना गरेको अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता–२०७७ को उपाधि वडा नं. २, नाग्रेगगर्चेले हातपार्न सफल भएको छ । वडा नं. ३ माझिफेदाको काफ्ले खेलमैदानमा भएको प्रतियोतिामा वडा नं. ७, मादनलाई २ः० गोलले पराजित गरेपछि उपाधि हातपार्न सफल भएको हो । त्यसैगरि वडा नं. ७, मादनकुँडारी उपविजेता बनेको छ । त्यस्तै वडा नं. ६ कात्तिके देउराली तेस्रो भएको छ । गत आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नं. २ र ७ बीच खेल भएको थियो । प्रतियोगितामा पालिकाका ९ वटै वडाका खेलाडी टिम प्रतिस्पर्धामा उत्रेका थिए ।
यसैबीच प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै वागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकालले खेल समृद्धिको महत्वपूर्ण पाटो बताउँदै खेल युवा विकास, अनुशासन र गतिशिलतासँग जोडिएको बताए । ‘संसारमा
थुप्रै देशहरु खेलकुदलाई आर्थिक समृद्धिको महत्वपूर्ण स्रोत बनाउन सफल भएका छन ।’ उनले भने, खेलसँग युवा विकास, अनुशानसँगै पर्यटन पनि जोडिन आउँछ, हाम्रो नेपालले पनि त्यसतर्फ ध्यान दिने बेला भएको छ ।’ चालु आर्थिक वर्षमा काफ्ले फुटबल मैदानको स्तरउन्नतीका लागि आफूले १० लाख बजेट विनियोजन गरेको बताउँदै सांसद ढकालले चौंरीदेउरालीमा खेलकुदको विकासका लागि पालिकासँग प्रदेश सरकारले पनि हातेमालो गर्दै आएको बताए । यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिननाथ गौतमले खेलमा हारजीत स्वभाविक भएको बताउँदै विजेता खेलाडीहरुलाई नमात्तिकन अझै अघि बढ्नुपर्ने र हार बेहोरेका खेलाडीहरुलाई थप मजवुत भई अघि बढ्नुपर्नेमा जोड दिए । ‘क्षमता विकास तथा प्रगतिको सिमाना हँुदैन, झनै बढाउँदै लैजाने हो, कमजोरी बेहोर्नेहरुले सच्याउदै अघि बढ्ने हो ।’ अध्यक्ष गौतमले भने, ‘खेलमा हारजीत हुन्छ नै । जित्यो भनेर मात्तिनु पनि हुँदैन र हार भयो भनेर आत्तिनु पनि हुँदैन ।’ खेलले विकास, गतिशिलता र अनुशासनको विकास गराउने धारणा व्यक्त गर्दै उनले यिनै चिजको सिकाईसँगै कुनै पनि ठाउँको चिनारी अन्यत्र फिजाउँने काम खेलमार्फत खेलाडीहरुले गर्ने बताए । युवा र खेलकुदप्रति पालिकाको सकारात्मक दृष्टिकोण रहेको स्पष्ट पार्दै यसैको परिणाम चौंरीदेउराली अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता–२०७७ रहेको बताए । ‘आगामी समयमा पनि खेलकुदको विकासका लागि नीति र बजेटले सम्बोधन गर्नेछौं ।’ उनले भने, ‘तपाईंहरुको साथ र सहयोग निरन्तर चाहिन्छ ।’
समापन कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो समूहलाई पुरस्कार वितरण गरेको थियो । सोही क्रममा विजेता समुहले नगद १ लाखसहित ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन भने उपविजेताले नगद ५० हजारसहित ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् । तेस्रो हुने टिमले नगद २५ हजार सहित ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगिताको प्रथम हुने टिम र खेलाडीहरुलाई प्रदेश सांसद रत्न ढकाल, दोस्रो हुने टिम र खेलाडीलाई गाउँपालिका अध्यक्ष दिननाथ गौतम र तेस्रो हुने टिम र खेलाडीहरुलाई पालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईले नगद पुरस्कारसहित ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा उत्कृष्ट किपर विजय थापा, उत्कृष्ट मिड फिल्डर यज्ञ प्रधान, उत्कृष्ट डिफेन्स बिमल परियार, उत्कृष्ट स्ट्राइकर आशिस लामा, उत्कृष्ट कोच ब्रजेस लामा, हाइ इस्कोर देवराज तामाङ, उत्कृष्ट खेलाडी निशान लामा घोषित भएका थिए । यसपटकको प्रतियोगिता वडा नं. ३ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता विनोद घिसिङको संयोजकत्वमा भएको थियो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2024 © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.