यथार्थपरक मौलिक तीज गीत ‘पीडा चेलीको’
काठमाडौं / टेलिशृङ्खला ‘मेरि भाउजु’ टिमले एक अत्यन्तै मार्मिक तिज गीत ‘पीडा चेलिको’ सार्वजनिक गरेको छ । ‘पीडा चेलिको’ केवल तिज गीत होइन, यो एउटा समाजको ऐना हो, जहाँ हजारौँ चेलीहरू माइती सम्झेर रुन्छन्, बुढा बाबुआमा सम्झेर मन भारी बनाउँछन्, अनि पराइ घरमा आफूलाई गुमाएर बाँच्छन् । गीतमा चेलीहरूले माइती छोडेर पतिको घरमा जाँदा भोग्नु पर्ने अनेक मानसिक, भावनात्मक र सामाजिक दबाबलाई उजागर गरिएको छ । तिजजस्ता चाडपर्वले पनि उनीहरूमा झनै भावनात्मक चपेटा ल्याउने गर्छ । यही यथार्थलाई गीतले मन छुने ढंगले उठाएको छ । यस गीतमा केवल सुर र ताल मात्रै होइन, चेलीहरूको मौन आवाज, पीडादायी अनुभव र परिवारप्रतिको अमिट प्रेम मिसिएको छ । तिजलाई रमाइलो नाचगानमा मात्र सीमित नराखी, सामाजिक सन्देश र चेतनाको स्वरूप बनाउने उद्देश्यले गीत तयार गरिएको छ । ‘मेरि भाउजु’ टिमको यो प्रयास केवल मनोरञ्जनको लागि नभई, चेलीहरूको अधिकार, अस्तित्व र सम्मानप्रति समाजलाई सजग बनाउने अभियान हो । गीत युट्युबमार्फत सार्वजनिक भएसँगै छोटो समयमै धेरै दर्शकहरूको मन छोएको छ । धेरै दर्शकहरूले गीतको शब्द र भावनालाई आफ्नो व्यक्तिगत अनुभवसँग जोडेर प्रतिक्रिया दिएका छन् । ‘पीडा चेलिको’ तिज गीतले यस वर्षको तिजलाई केवल नाचगान र रमाइलोको पर्व होइन, भावनात्मक चिन्तन र सामाजिक आत्मपरीक्षणको अवसर बनाएको छ । चेलीका आँखाका आँसु, मनका भावना र मौन रहनु परेको सत्यतालाई सजीव बनाउने गीतलाई सुन्नेहरूमध्ये थोरै मात्र होलान् जो भावुक नहोउन् । “चेलिको पीडा“ तीज गीतले लाखौं नेपाली चेलीहरूको मौन वेदनालाई जस्ताको तस्तै प्रस्तुत गरेको छ । यो गीत कुनै मात्र मनोरञ्जन होइन, यो त एक चेलीको आँसु, अपमान, सहनशीलता र बलिदानको कथा हो । गीतका शब्द तथा लय लोकप्रिय सर्जक रामु बिरहि मल्लले तयार गरेका हुन् । गीतमा उनले समाजमा मौन रहेको चेलीको मर्मलाई कलात्मक र गहिरो भाषामा पोखेका छन्, जुन सँगै संगीतले झनै प्रभावशाली बनाएको छ । स्वरमा रन्जिता विश्वकर्मा, रामु बिरहि मल्ल, टिकाराम श्रेष्ठ, रमा गोदार थापा र सबिता नेपालले आफ्नो आत्मा घोलेर गीतलाई जिउँदो बनाएका छन् । उनीहरूको सम्वेदनशील गायन शैलीले गीतमा प्राण भरेको छ ।