May 24, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

सिम्पल आर्ट्सको वार्षिकोत्सवमा ‘अटिजम’को च्यारिटी शो

1 min read

–मोहन अभिलाषी
नेपाली चलचित्र क्षेत्रमा चलचित्र निर्माणका कार्यहरु धमाधम भईरहेपनि चलचित्रको बजार अहिले सुस्ताईरहेको अवस्था छ । व्यवसायिक र मनोरञ्जनाक चलचित्रहरु निर्माण भईरहने नेपाली चलचित्रको बजारभन्दा फरक विषयवस्तुमा बनेको सन्देशमुलक चलचित्र ‘अटिजम’को पहिलो प्रदर्शन (च्यारिटी शो) लाजिम्पाटको होटल लि हिमालयमा सम्पन भएको छ । सिम्पल आर्ट्सको आफ्नो २३ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रमको अवसर पारेर यस चलचित्रको पहिलो प्रर्दशन गरिएको हो । चलचित्रको च्यारिटी शो सँगसँगै वार्षिक रुपमा विभिन्न सर्जकहरुलाई सम्मान गर्दै आएको सिम्पल आर्ट्सले यस वर्ष कलाकार सुशिल पोख्रेल, संगीतकार नरहरी प्रेमी, लोकगायिका रामदेवी गुरुङ, साहित्यकार अशोक घिमिरे र समाजसेवी शोभित उप्रेती लगायत पाँच विधाका पाँच स्रष्टालाई सम्मान गरेको थियो । कार्यक्रममा समाजसेवी उप्रेती भने विशेष कारणवश सहभागी भएनन् । रिच भिजन प्रा. लि.द्धारा निमार्ण भएको यस चलचित्रको निर्देशन संगीतकार तथा निर्देशक केशव रेग्मी (सान्दाइ)ले गरेका छन । चलचित्र निर्माण गर्ने शिलशिलामा आफुले नेतृत्वको भूमिका मात्र निर्वाह गरेको र अन्य धेरै व्यक्तिहरुको साथ, सहयोग र सक्रियतामा चलचित्र अटिजम तयार भएको निर्देशक रेग्मीले बताए । साहित्यिक पत्रकार निबन्ध आचार्यको प्रस्तुतीमा बनेको उक्त चलचित्र अटिजमग्रस्त सम्मान आचार्यको विषयवस्तुमा तयार भएको हो । कलाकार तथा पटकथाकार बिक्रम श्रेष्ठले चलचित्र अटिजम निर्माणको प्रसंग र निर्माणको दौरानमा सिर्जना भएका चुनौतीलाई मञ्चबाट व्यक्त गरेका थिए । उनले आगामी दिनमा अटिजमकै टीमले २ वटा आशामुलक चलचित्र निर्माण गर्न लागेको र अकिले स्क्रिप्टमा काम भईरहेको कुरा पनि खुलाए । करिब २ घण्टा लामो चलचित्रमा समाजमा अटिजम भएका बालबालिका वा व्यक्तिको फरक किसिमको व्यवहारलाई अनेक किसिमले नाम दिएर दुव्र्यवहार गर्ने गरेको तथ्यलाई उजागर गर्ने प्रयास गरिएको छ । अटिजम एउटा रोग नभएर एउटा अवस्था हो भन्ने सन्देश दिन खोजिएको छ । अटिजम भएका व्यक्तिहरुलाई घर, परिवार र समाजले हेर्ने मानसिकता र दृष्टिकोणलाई परिवर्तन गर्न सक्ने हैसियत चलचित्रले राखेको छ । समग्र चलचित्र हेरिरहँदा यसले शारिरीक रुपमा मात्र अटिजम भएका व्यक्तिलाई मात्र नभई परिस्थिति र मनस्थितिले पनि मानिस अटिजमको सिकार बन्न सक्छन् भन्ने कुरालाई स्पष्ट पार्न खोजिएको छ । चलचित्रमा केहि प्राविधिक त्रुटीहरु भएतापनि यो सन्देशमुलक मात्र नभएर मनोरञ्जनात्मक चलचित्रको रुपमा समेत पाउन सकिन्छ । चलचित्र अटिजममा प्रतिक र सृष्टी को मुख्य भुमिका रहेको छ भने सुशिल पोख्रेल, सुस्मा कार्की, बिक्रम श्रेष्ठ (सागर), करुना पोख्रेल, डा. राम प्रसाद ज्ञावली, श्रद्धा कोईराला, गंगा पौडेल, पुण्यराज पुडासैनी, सौरब ढकाल, शंकर भारती, बिष्णु बहादुर सिंह, बिजय कट्टेल, अशिम कार्की, मृदुल कोईराला, रबी खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.