October 6, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

भरिए राजधानीका कोभिड अस्पताल

1 min read

काठमाडौं/नेपालमा कोरोनाभाइरस कोभिड-१९ संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले बिरामीको उपचार गर्न नसक्ने भन्दै हात उठाएको छ । नागरिकको अभिभावक भनिने सरकारले नै हात उठाएर आत्मसमर्पण गरेपछि अब सर्वसाधारण नागरिकको जीवन ‘भाग्य भरोसा’ मा रहन पुगेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक अपिल जारी गर्दै काठमाडौं उपत्यका लगायतका १७ जिल्लामा कोरोना संक्रमण उच्च गतिमा फैलिरहेको र अस्पतालहरुमा बिरामीका लागि शैय्याले धान्न छाडेकाले नागरिक आफैं सचेत र सर्तक हुन भनेको छ । ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने भइसकेको छ’, स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको अपिलमा भनिएको छ ।
कोभिड-१९ संक्रमितको उपचार गर्ने उपत्यकाका अधिकांश सरकारी अस्पतालको बेड भरिएका छन् । बेड नभएपछि धेरै अस्पतालले भर्ना लिन मानेका छैनन्, अस्पताल पुगेका बिरामी फर्किन बाध्य भएका छन् । अस्पतालहरुले जटिल अवस्थामा पुगेका अथवा अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई प्राथमिकता दिई भर्ना लिने गरेका छन् । कुनै पनि बिरामीले अगाडि नै फोन गरेर बेड बुक गर्ने अवस्था नरहेको डाक्टरहरुको भनाइ छ । त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्जमा संक्रमितको उपचार गर्न जम्मा ११३ बेड रहेका छन् । अस्पतालमा अहिले १०९ जना संक्रमित उपचार गराइरहेका छन् । जसमध्ये २१ जना आईसीयूमा, ५ जना भेन्टिलेटरमा उपचाररत र बाँकी सामान्य वार्डमा उपचार गराइरहेका छन् । यहाँ भेन्टिलेटर बेड क्षमता ११ वटा मात्र छ । सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा संक्रमितको उपचारका लागि १४० बेड छ । तर जटिल खालका संक्रमित आएपछि क्षमता भन्दा १८ जना बढी भर्ना लिईएको छ । अहिले बलम्बुमा २० वटा आईसीयूमा १९ जना र ८ भेन्टिलेटरमा सबैमा बिरामी छन् । अरु बेडमा रहेका ७५ प्रतिशत बिरामी अक्सिजन दिनुपर्ने अवस्थाका छन् । वीर अस्पतालको संक्रमितको उपचारका लागि ९६ वटा बेड छ । यहाँ उपचाररत ५७ जनामध्ये आईसीयूमा ८ जना र भेन्टिलेटरमा दुई जना छन् । वीर अस्पतालले अक्सिजनको सहायता लिनु नपर्नेलाई भर्ना लिएको छैन । अस्पतालले सर्जिकल बिल्डिङलाई कोभिड अस्पताल बनाउने तयारी
गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० बेड सञ्चालनमा ल्याइएको छ । अहिले यहाँ उपचाररत ५४ जनामध्ये १२ जना भेन्टिलेटरमा, २२ आईसीयूमा, ४ जना स्पेसल आईसीयूमा, ७ जना नर्मल बेडमा र ९ जना आकस्मिक कक्षमा उपचाररत छन् । अस्पतालले अत्यावश्यक उपचारको आवश्यकता परेकालाई मात्र भर्ना गरिरहेको छ । अस्पतालले भर्ना लिन नसक्ने बिरामीको उपचारका लागि अन्य सरकारी अस्पतालसँग समन्वय गरी सिफारिस गर्दै आएको छ । पाटन अस्पतालमा संक्रमितको उपचारका लागि १९० वेड क्षमतामध्ये १४२ जना उपचाररत छन् । तीमध्ये आईसीयूमा १९ जना, भेन्टिलेटमा ११ जना, एचडी मनिटरसहितको बेडमा १० जना र एचडीयूमा २५ जना र वार्डमा ७७ जना उपचाररत रहेका छन् । नयाँ बानेश्वरको निजामती कर्मचारी अस्पतालमा ५० वटा बेडमध्ये अहिले २८ जना संक्रमितको उपचार भइरहेको छ । १४ बेड क्षमताको आईसीयू भरिएको छ । ६ वटा वेड क्षमताको भेन्टिलेटर भने खाली छ तर आईसीयूको बिरामी जटिल अवस्थामा भएकाले जुनसुकै बेला भेन्टिलेटर चाहिने अवस्था छ । यहाँ १४ जना अक्सिजनको सहायतामा उपचाररत छन् । भक्तपुर अस्पताल भक्तपुरमा ६८ बेडमध्ये ३० जना कोरोना संक्रमित उपचारत छन् । तीमध्ये ६ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा छन् । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा अहिले १२० जना उपचाररत रहेका छन् । १२५ वेड क्षमता भएको केन्द्रमा १० जना अक्सिजनको सहायता लिनुपर्ने र अरु सामान्य लक्षणसहितका र लक्षण नदेखिएका संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.