May 24, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

कोरोनाको हटस्पट बन्दै संघीय राजधानी

1 min read

काठमाडौं/पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि नेपालमा पनि कोरोनाको संक्रमणको दर उच्च हुँदै गएको छ । संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा पनि कोरोना भाइरसको संक्रमण केही दिनदेखि तीव्र रुपमा वृद्धि भईरहेको छ । बागमती प्रदेशमा हालसम्म १६ हजार ६ सय २० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्ला दिनहरुमा दिनहुँ १ हजार २ सय भन्दा बढी कोरोना संक्रमित फेला पर्न थालेका छन् । प्रदेशका १३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमणबाट संक्रमित भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले गत बिहिबार सार्वजनिक गरेको तथ्याङ्कका अनुसार काठमाडौंमा मात्र ९ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणबाट ललितपुरमा १ सय ६ जना भक्तपुरमा ८१ जनामा संक्रमित भएका छन् । प्रदेशका अन्य १० जिल्लाहरुका सहरी क्षेत्रमा कोरोनाको प्रभाव उच्च देखिएको छ ।
पछिल्ला केही दिन यता बागमती प्रदेशमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ८० वर्षीय एक वृद्ध र भक्तपुरकी ६४ वर्षीया एक महिला रहेका छन् । चैत २१ गते कोरोना संक्रमण पुष्टि भएका काठमाडौंका वृद्धलाई उच्च रक्तचापको रोग रहेको थियो । संक्रमण पुष्टि भए लगत्तै अस्पताल भर्ना भएका उनको मृत्यु भएको जनाइएको छ । बैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी महिलामा उच्च रक्तचाप, मधुमेह र दमको रोगबाट पीडित रहेको मन्त्रालयले जनाएको छ । आफुमा कोरोना संक्रमण पुष्टि भए लगत्तै अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो । बागमती प्रदेशका २९ जना कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ६० जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत रहेका छन् । प्रदेशका विभिन्न अस्पतालले कुल १ सय ६० भेन्टिलेटर र ४ सय १५ आइसियू बेडहरु संचालनमा ल्याएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै ४ सय २२ जना कोरोना संक्रमितहरु संस्थागत आइसोलेशनमा रहेका छन् भने होम आइसोलेशनमा ५ हजार ३ सय ७ जना रहेका छन् । कोरोना संक्रमणको दोस्रो लहर फैलन थालेपछि सरकारले तीन महिनाभित्र ३ देखि ६ लाख संक्रमित पुग्ने आंकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.