October 6, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

अविश्वासको प्रस्ताव ल्याएर हटाउन प्रधानमन्त्री ओलीको चुनौती

1 min read

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् । गत शनिबार बालुवाटारमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले यस्तो चुनौती दिएका हुन् । “प्रधानमन्त्रीबाट राजीनामा माग्नेहरुलाई अविश्वास प्रस्ताव राख्न चुनौती दिन्छु,“ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने । ‘राजीनामा माग्नेहरुलाई म मन नपरेको हो भने अविश्वासको प्रस्ताव ल्याए हुन्छ । तर सरकारविरुद्ध त्यो आउने स्थिति देखिँदैन उनले भने ।’ पछिल्लो समय चौतर्फी रुपमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको छ । उनले नेता माधवकुमार नेपाललाई लक्षित गर्दै ‘आफूसँग हारेको मान्छेले फेरि किन अध्यक्ष मागेको ?’ भन्दै प्रश्न गरे ।
यसैबीच प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत भेला गर्नेलाई स्पष्टीकरण सोधिने पनि बताएका छन् । नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई संकेत गदै उनले भेलाका अगुवालाई स्पष्टीकरण सोध्ने र आत्मालोचना नगरे कारबाही गर्नेसमेत चेतावनी दिए । नेपाल समूहले प्रतिक्रियावादी तत्वसँग साँठगाँठ गरी गुटको भेला गरेर कम्युनिष्ट आन्दोलनलाई कलंकित बनाउन खोजेको आरोप लगाए । ‘नेतृत्वलाई खुइलाउने, सरकार पार्टीको बदनाम गराउने नियतले भएको उक्त भेला मैले र महासचिवले नगर्न निर्देश गर्दागर्दै गरेकाले त्यसको निन्दा गर्दछौं,’ उनले भने, ‘निर्लज्जापूर्वक कम्युनिष्ट आन्दोलनकै इतिहासमा कलंकको रुपमा चिनिएको भेला आयोजना गर्ने अगुवालाई स्पष्टीकरण सोधिनेछ ।

आत्मालोचना गरेर आए सोच्न सकिनेछ नत्र कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’ उक्त बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् । यसअघि गौतम ओली वा नेपाल– खनाल समूहले गरेको कुनै पनि बैठकमा उपस्थित भएका थिएनन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्न बैठक बोलाएका थिए तर बैठकमा नेपाल–खनाल समूह भने उपस्थित भएनन् ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.